तिहार झिलिमिली पार्न ६० करोडको बत्ती आयात

काठमाडौं । तिहार सुरु हुनै लाग्दा बिजुली पसलहरुमा ग्राहको चहलपहल बढ्दै गएको छ । यो पर्वमा विभिन्न प्रकारका झिलिमिली बत्तीको व्यापार फस्टाउँछ ।

केही वर्षअघि लोडसेडिङ हुँदा झिलिमिली बत्तीको व्यापार न्यून भए पनि अहिले लोडसेडिङको अन्त्यसँगै व्यापार फस्टाएको छ । तिहारमा उच्च खपत हुने भए पनि नेपालमा झिलिमिली बत्ती उत्पादन हुँदैन । जसले गर्दा आयातमा नेपालबाट करोडौं रकम बाहिरिने गरेको छ ।

नेपाल विद्युतीय व्यवसायी महासङ्घका अध्यक्ष रेशमकुमार देवकोटाका अनुसार यस वर्ष तिहारका लागि करिब ६० करोडको झिलिमिली बत्ती आयात भएको छ ।
विद्युतीय व्यवसायीले मात्र ४५ करोडको झिलिमिली बत्ती आयात गरेका छन् भने खुद्रा व्यापारीका तर्फबाट १५ करोडको आयात भएको छ ।

नेपालमै उत्पादन नहुने भएपछि ९० प्रतिशत झिलिमिली चीनबाट आयात भएको छ । बाँकी १० प्रतिशत भारतबाट भित्र्याइएको छ ।

तिहार सुरु भएलगत्तै यस्ता बत्तीको माग बढ्दै जान्छ । बिजुली पसलदेखि विभिन्न खुद्रा पसलमा समेत सिजनल व्यापारका रुपमा यो बत्ती बेच्ने गरिन्छ ।

देवकोटाले भन्नुभयो, “तिहार सुरु हुनै लाग्दा झिलिपिली बत्तीको माग बढ्दै गएको छ । अरु बेसिजनल समय र बिहेको समयमा थोरै–थोरै मात्र माग हुन्छ ।”

१५ प्रतिशत उपत्यकामै खपत
बाहिरबाट नेपाल भित्र्याइएको कुल ६० करोड झिलिमिली बत्तीमध्ये करिब १५ प्रतिशत उपत्यकामै खपत हुने अध्यक्ष देवकोटाको भनाइ छ । बाँकी बत्ती देशका अन्य क्षेत्रमा खपत हुने गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बाहिरबाट आयात भएको ६० करोडको झिलिमिली बत्तीमध्ये १५ प्रतिशत काठमाडौंमा खपत हुन्छ । अन्य बाँकी क्षेत्रमा खपत हुने गरेको छ ।”
माग भने घट्दो
गत वर्षको तुलनामा यस वर्ष तिहारका लागि झिलिमिली बत्तीको माग भने घट्दो छ ।

नेपाल विद्युतीय व्यवसायी महासङ्घका अध्यक्ष देवकोटाका अनुसार एक पटक किनेको बत्तीले चार–पाँच वर्षसम्म काम गर्ने भएकाले यसपाली माग कम भएको हो ।

उहाँले भन्नुभयो, “तिहारका लागि किनेको झिलिमिली बत्ती सामान्यतया चार–पाँच वर्षसम्म टिक्छ । पटक–पटक किनिरहनु नपर्ने भएकाले यस वर्ष माग भने घट्दो छ ।” तिहारमा केही दिन बालेपछि राख्दा नबिग्रने भएकाले पनि माग नबढेको उहाँको भनाइ छ ।
कस्ता बत्ती पाइन्छन् ?
बजारमा फरक–फरक खालका झिलिमिली बत्तीहरु फरक–फरक मूल्यमा उपलब्ध छन् ।

न्यूनतम प्रतिगोटा ६० सयदेखि १५–२० हजार रुपियाँसम्म पर्ने बत्तीहरु तिहारका लागि आयात हुन्छ । प्रायः बल्ने–निभ्ने गुण हुने भएकाले यस्ता बत्तीमा उपभोक्ताले घर, बगैँचा, कार्यालय, व्यापारिक मल लगायतको सजावट गर्न यसको अत्यधिक प्रयोग गर्छन् ।

पछिल्लो समयमा विभिन्न मूल्यका क्लब (डिस्को) तथा रोटर लाइटहरु पनि तिहारका लागि प्रयोग हुन थालेका छन् । यस्तै देवी–देवताका फोटोमा जोडिएको बत्तीको बिक्री पनि यो समयमा धेरै हुन्छ । इलेक्ट्रिक दियोवाला बत्ती पनि आउन थालेका छन् ।

यसै कारण वर्षैपच्छे तिहारमा यस्ता बत्तीको माग बढिरहेको छ । लोडसेडिङको समस्या समाधान भएकाले पछिल्ला वर्षहरुमा तिहारमा यस्ता बत्तीको माग दोब्बर भएको व्यवसायीको भनाइ छ ।

‘‘पहिले साधारण बल्बवाला बत्ती आउँथे, अहिले एलइडी बल्बवाला बत्ती एक वर्षमै बिग्रन्नन्, त्यसैले झिकेर सुरक्षित राखेपछि अर्को वर्ष पनि त्यही प्रयोग गर्ने सकिन्छ,’’ उहाँले भन्नुभयो, ‘‘त्यसैले व्यापार उच्च रुपमा बढ्न पाएको छैन ।’’

Leave a Comment