आजबाट २५ हजार टन चिनीको खरिद प्रक्रिया सुरु, तिहारअघि नै बिक्री गरिने

काठमाडौँ । सरकारले २५ हजार टन चिनी खरिद प्रक्रिया आजबाट सुरु गर्ने जनाएको छ । उक्त चिनी सरकारले तिहार अघि नै बजारमा विक्री गर्ने जनाएको छ ।

चिनी बजारमा विक्रीसँगै चिनी अभाव नहुने वाणिज्य आपूर्ति तथा संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलुवालले बताउनुभयो । भारतले नेपालमाथि चिनी निर्यातसम्बन्धी प्रतिबन्ध लगाएसँगै बजारमा चिनी अभाव भएको थियो । भारतले नेपालाई २५ हजार टन चिनी उपलब्ध गराउने जनाएपछि सरकारले खरिद गर्ने भएको हो ।

वाणिज्य आपूर्ति तथा संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलुवालका अनुसार जिटूजी प्रक्रियाबमोजिम भारतले नेपाललाई दिने चिनी तिहार अगावै बजारमा पठाइनेछ । उहाँका अनुसार चिनी ल्याउनका लागि आइतबारबाट नै प्रक्रिया थालिनेछ । उहाँले भन्नुभयो, “भारतले बेच्ने २५ हजार टन चिनी तिहार अघि नै बजारमा पठाउँछौँ । आइतबार बाट खरिदको प्रक्रिया सुरु हुनेछ ।” भारतबाट चिनी आयात भएपछि अहिले देखिएको चिनीको कालोबजारी घट्ने अपेक्षा रहेको उहाँले सुनाउनुभयो । उहाँका अनुसार जी टू जी प्रक्रियाबाट ल्याउने चिनीको भन्सार महसुल ५० प्रतिशत मात्र तिर्नुपर्ने भएकाले पहिलेको चिनीको तुलनामा मूल्य समेत कम पर्नेछ ।

भारतले नेपाललाई चिनी दिने भनेपछि अहिले व्यावसायीहरुले चिनी खरिद गरिदिनुपर्‍यो भनेर फोन गर्ने गरेको उहाँले सुनाउनुभयो । भारतले दिने भनेको चिनी साल्ट ट्रेन्डिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ल्याउने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “भारतबाट चिनी आयात भएपछि बजारमा अहिले देखिएको चिनीको अभाव कम हुँदै जानेछ, चिनीको मूल्य पनि सस्तो हुनेछ ।”

चिलुवालका अनुसार बजारमा चिनीको अभाव भएको गुनासाहरू आएपछि नियमित अनुगमनका क्रममा विभागले मात्र ८५ हजार केजी चिनी जफत गरिएको छ ।

उहाँले भन्नुभयो, बजारमा चिनीको कालोबजारी बढेको गुनासो आएपछि विभागले अनुगमन गर्दा अवैध ८५ हजार केजी चिनी फेला पारिएको छ । यसलाई भन्सार प्रशासनको जिम्मा लगाइएको छ ।

नेपाल खुद्रा व्यापार सँगका अध्यक्ष पवित्र बज्राचार्यका अनुसार बजारमा चिनीको अभाव हुन नदिनका लागि थप तीन हजार मेट्रिक चिनी बजारमा पठाइएको छ । बज्राचार्यले भन्नुभयो, चाडपर्वको समयमा चिनीको अभाव भएको समयमा तीन हजार मेट्रिक टन चिनी बजारमा पठाएका छौँ । आवश्यक परेको खण्डमा अझै सहयोग गर्न तयार छौँ ।

के हुन्छ बरामद भएको चिनी ?

अनुगमन गर्दा भन्सार महसुल नबुझाई ल्याएको वा दर्ता नभएको कम्पनीले ल्याएको चिनी बरामद हुन्छ । अनुगमनका लागि धेरै चिनी मौज्दात राखी बजारमा कृत्रिम अभाव सृजना गराई राखेको चिनी भेटिए पनि बरामद गर्ने प्रचलन छ ।

चिनी बरामद भएको चिनी भन्सार प्रशासनमा बुझाएपछि निश्चित समयसम्म आयात कर्तालाई आवश्यक बिल बिजकहरु ल्याएर चिनी लैजान दिइन्छ । दिइएको समयमा बिल विजकहरु नल्याएको खण्डमा उक्त चिनी सरकारको स्वामित्वमा हुने र सरकारले लिलाम बिक्री वा आफ्नो स्वामित्वमा रहेका कम्पनीमार्फत बिक्री गर्न सक्ने भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले बताउनुभयो ।

 

Leave a Comment