सीमा स्थिरतामा सहयोग गर्न चीनको म्यान्मासँग आग्रह

बेइजिङ । म्यान्माको जुन्ता सरकारसँग लड्ने सशस्त्र समूहहरूले एउटा रणनीतिक व्यापारिक चौकीलाई कब्जामा लिएको भन्दै चीनका एक वरिष्ठ कूटनीतिज्ञले आफ्नो साझा सीमा स्थिरतामा ‘सहयोग’ गर्न म्यान्मासँग आग्रह गर्नुभएको छ ।

चिनियाँ सहायक विदेशमन्त्री नोङ रोङले शुक्रबारदेखि आइतबारसम्म म्यान्माको भ्रमण गर्नुभयो । तेइस हजार सर्वसाधारणलाई आफ्नो घरबाट विस्थापित हुन बाध्य पारिएको झडपहरूबारे उहाँले जुन्ता अधिकारीहरूसँग कुराकानी गर्नुभयो । संयुक्त राष्ट्रसङ्घले झडपका क्रममा २३ हजार नागरिक आफ्नो घर छाड्न बाध्य भएको बताएको छ ।

“म्यान्मासँग चीन–म्यान्मा सीमामा स्थिरता कायम राख्न चीनलाई सहयोग गर्न आह्वान गरिएको छ”, नोङको भनाइ उद्धृत गर्दै चीनको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । नोङले आफ्नो भ्रमणका क्रममा म्यान्माका उपप्रधानमन्त्री एवम् विदेशमन्त्री थान स्वे र उपविदेशमन्त्री ल्विन ऊसँग भेट गर्नुभएको बेइजिङले जनाएको छ ।

उहाँले भन्नुभयो, “चीनले जुन्तासँग चिनियाँ सीमा क्षेत्रका बासिन्दाको जीवन र सम्पत्तिको सुरक्षालाई इमानदारीपूर्वक सुनिश्चित गर्न र म्यान्मामा चिनियाँ कामदार, संस्थान र परियोजनाहरूको सुरक्षा सुदृढ पार्नका लागि प्रभावकारी कदम उठाउन आग्रह गरेको छ ।”

पूर्वोत्तर शान राज्यमा म्यान्माका जातीय अल्पसङ्ख्यक समूहहरूको गठबन्धनले सुरु गरेको हालैको हमलालाई सन् २०२१ मा सत्ता कब्जा गरेपछि जुन्ता सरकारसामु सबैभन्दा ठूलो सैन्य चुनौती ठानिएको विश्लेषकहरूले बताएका छन् ।

गत साता चीनले बेइजिङको वैश्विक बेल्ट एन्ड रोड पूर्वाधार परियोजनाको एउटा हिस्साका रूपमा रहेको एक अर्ब डलरको रेल मार्ग निर्माण गर्ने योजना बनाइएको क्षेत्रमा तत्काल युद्धविराम गर्न आग्रह गरेको थियो ।

छिमेकी कचिन राज्यस्थित जातीय सशस्त्र समूह कचिन इन्डिपेन्डेन्स आर्मी (केआइए) आफ्नो सेनामाथि आक्रमणमा सामेल भएको जुन्ताले शनिबार बताएको थियो । स्थानीय मिडियाका अनुसार जुन्ताले चिनियाँ सीमामा केआइएको मुख्यालय रहेको सुदूर सहर लाइजामा गोलाबारी गरेको थियो ।

रासस/एएफपी

Leave a Comment