नेपाल र यमनबिचको विश्वकप छनोट खेल मंसिरमा हुने

काठमाडौं । विश्वकप छनोट समूह चरणको दोस्रो खेल नेपालले यमनसँग खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पत्रकार सम्मेलनमा बताएअनुसार आगामि मंसिर ५ गते बेलुकी ७ बजे काठमाडौंको दशरथ रंगशालामा खेल हुनेछ। यसअघि नेपालले यूएईसँग घरेलु मैदान यूएईमामा समूह चरणको पहिलो खेल कात्तिक ३० गते खेल्नेछ।

नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अल्बर्टो एनेसको सल्लाहमा नेपाललाई फाइदा पुग्नेगरी यमनसँगको खेल बेलुकी ७ बजे खेलाउन लागिएको एन्फा प्रवक्ता सुरेश शाहले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो।

साधारण प्यारापिटतर्फ ४ सय र भीआईपी प्यारापिटतर्फ एक हजार रुपियाँ टिकट दर तोकिएको प्रवक्ता शाहले जानकारी दिनुभयो। खेल सकिएपछि दर्शकका लागि आवत-जावतलाई सजिलो बनाउन साझा यातायात तथा अन्य यातायात कम्पनिसँग कुरा भइरहेको पनि शाहले जानकारी गराउनुभयो।

विश्वकप छनोटका लागि प्रशिक्षक एनेसले २६ जना खेलाडीलाई बन्द प्रतिक्षण गराइसक्नु भएको छ। जसबाट २३ खेलाडी छानिने छन् । यमन विश्व फुटबल महासङ्घ (फिफा) को वरीयता १५६ औँ र नेपाल १७३ औँ स्थानमा रहेको छ। प्रतियोगिताको अनुमानित बजेट ७३ लाख ६८ हजार ४०० रहेको एन्फाले जनाएको छ ।

 

Leave a Comment